Saturday, June 13, 2009

Reason back From NASA

काठमाडौं, नेपाली ठिटोले न्युटन र आइन्स्टाइनका नियम गलत छन् भन्दा धेरैले पत्याएनन् । त्यसको प्रमाणका लागि रिजन कार्कीले जब आफूले अध्ययन र प्रयोगबाट तयार सामग्री प्रस्तुत गरे नासाका वैज्ञानिकहरू चकित भए ।
गत मे २८ देखि ३१ सम्म अमेरिकाको फ्लोरिडामा चलेको अठ्ठाइसौं अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलनमा भाग लिनेमध्ये उनी कान्छा थिए ।
'सबै बूढा र विद्यार्थी थिए', नासाको सम्मेलन सकेर फिरेका उनले बिहीबार सञ्चारकर्मीहरूलाई अनुभव सुनाए, 'सम्मेलनमा छिर्दा पहिले त डर लाग्यो, खुट्टा कामेजस्तो भयो । तर मन दह्रो गरेर प्रेजेन्टेसन सकेँ ।' नासा सम्मेलनमा उनको प्रस्तुतिको तारिफ र आलोचना दुवै भयो । कतिले परिपक्व नभइसकेको टिप्पणी पनि गरे । 'आइन्स्टाइनलाई पनि सुरुमा यस्तै भएको थियो रे', एसएलसी परीक्षाफल कुरिरहेका तन्नेरी वैज्ञानिकले भने, 'सिद्धान्त बनाएको धेरैपछि उनले त्यसलाई बाहिर ल्याएछन् ।'
उनको सिद्धान्त गुरुत्वाकर्षणको पुरानो सिद्धान्त परिवर्तन वा परिमार्जन गर्नुपर्छ भन्ने मान्यता राख्छ । त्यसो भए के फरक छ आइन्स्टाइन र उनको सिद्धान्तमा ? 'आइन्स्टाइन र न्युटनको सिद्धान्तअनुसार शक्ति वा ऊर्जा वस्तुको पिण्ड वा प्रकाशको वेगको वर्गको गुणनफलसँग बराबर हुन्छ,' रिजनले भने, 'तर मेरो सिद्धान्तले पिण्ड र प्रकाशको वेगको वर्गको गुणनफलसँग बराबर हुने मात्र होइन, त्यो एक विकर्षण पनि हो भन्छ ।' उनको सिद्धान्तअनुसार गुरुत्वाकर्षणले भन्दा पनि ग्रह/नक्षत्र पारस्परिक विकर्षणको जालमा बुनेर घुमिरहेका हुन्छन् ।
रिजनको अमेरिका बसाइको खर्च नोबेल एकेडेमीले बेहोरेको थियो । बिहीबार उनी नोवेलमा थिए । उच्च माध्यमिक तह अध्ययनका लागि उनलाई नोवेलले छात्रवृत्ति दिने घोषणा गरेको छ ।
'म यसलाई पुष्टि गराउने थप तथ्यहरू खोज्छु', माध्यमिक तह पनि नसकेका तन्नेरीले आफ्नो अध्ययनबारे भने, 'जियोग्राफी च्यानल हेरेर र विज्ञानका थ्योरी पढेर नयाँ थ्योरी बनाएको हुँ । म विश्वस्त छु, यसमा सफल हुन्छु ।'

Source:Ekantipur.com

0 comments:

Post a Comment